मोही लेलखिन सजनी मोरा मनमा पहुनमा राघो….

जनकपुरधाम, १ पुस । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज धुमधामसित श्री सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेतायुगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन रहेको छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत रामजानकीको डोलालाई जनकपुरधाममा स्वयम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।
आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरिने छ । ढोल पिपही, सहनाई, बैण्ड बाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको स्वयम्बर हेर्न बाह्रविघा मैदानमा हजारौंको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
महोत्सवमा सहभागि हुन देशका विभिन्न स्थान तथा छिमेक देश भारतबाट आएका लाखौंको दर्शनार्थीले जनकपुरधाम खचाखच भरिएको छ । दर्शनार्थी आउने क्रम जारी नै रहेको छ । विवाहपञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा करिव १५ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मंसिर २६ गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव भोलि जन्तीक रुपमा आएका साधुसन्तको बिदाई गरि विधिवत समापन हुनेछ ।
मधेशमा सार्वजनिक बिदा
विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा क्यालेन्डरमा छुट्याएको छ । आजको बिदा राजपत्रमासमेत प्रकाशित छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


