विवाहपञ्चमीमा कस्तो छ जनकपुरधामको ट्राफिक व्यवस्थापन ?

जनकपुरधाम, ३० मंसिर । सप्ताहव्यापी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत आइतबार मुख्य दिन रहेको छ । आइतबार हुने भगवान राम र माता सिताको स्वयम्वर एवम् वैवाहिक कार्यक्रममा सहभागी हुन जनकपुरधाममा श्रद्धालुहरु आउने क्रम जारी रहेको छ ।
विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि जनकपुरधाम आउने बाह्य तथा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । जनकपुरधामका प्रायः हरेक चोकहरु भरिभराउ भएका छन् ।
यसैबीच, विवाहपञ्चमी महामहोत्सवमा हुने भीडभाडलाई दृष्टिगत गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले बाहिर जिल्लाहरुबाटसमेत ट्राफिक जनशक्ति मगाएर व्यवस्थित गर्ने योजना बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक शेखर साहले जानकारी दिए ।
उनले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने योजना रहेको बताएका छन् । प्रहरी निरीक्षक साहले जनकपुरधाम नगरभित्र आइतबार ठुला सवारी साधनहरुलाई प्रवेश निषेध गरिएको बताए ।
साहले पूर्वबाट जनकपुरधाम आउने सवारी साधनहरुलाई कपिलेश्वर बसपार्क र पूलचोकमा रोकेर पैदलयात्रीलाई मात्र नगरमा प्रवेश गराइने जानकारी दिए । त्यस्तै, पश्चिमबाट आउने सवारी साधनलाई बलवा प्रहरी चौकी र आखाँ अस्पतालको अगाडिको एरियामा, दक्षिणबाट आउने सवारी साधनहरुलाई नयाँ बसपार्कभित्र र नअटेको खण्डमा बसहियाको सिक्सलेन सडक खण्डमा पार्किंगको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
जटहीबाट आउने सवारी साधनहरुलाई कुवा रामपुर बजारमा तथा नअटेको खण्डमा प्रदेशसभा भवनको अगाडि भागमा रहेको खाली ठाउँमा व्यवस्थापन गरिने प्रहरी निरीक्षक साहले बताए । उनले उत्तरबाट जनकपुरधाम आउने सवारी सधानहरुलाई मुजेलियास्थित कवर्ड हलमा पार्किंगको व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक साहले नगरभित्र इ–रिक्सा, अटोरिक्सा तथा मोटरसाइकलहरुलाई जानकी मन्दिर आसपासको एरियामा प्रवेश नगर्न आग्रह गर्दै रामानन्द चोक र बजरंग चोकमा ब्यारिकेट लगाएर नगरभित्र प्रवेश गर्न नदिइने जानकारी दिए । उनले महावीर चोक, भैरव चोक र अदालत मोडमा पनि ब्यारिकेट लगाएर नगरभित्र प्रवेश निषेध गरिन बताउँदै कदम चोक, भानुचोक र शिवचोक तथा संकटमोचन मन्दिरको अगाडिको मोड, थापा चोक र शहीद चोकमा पनि ब्यारिकेट लगाएर साना सवारी साधनको प्रवेशमा रोक लगाइने जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


