जनकपुरधाम, २६ मंसिर । सप्ताहव्यापी श्रीरामजानकी विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ।प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगरदर्शन’ गराइएको हो ।नगरदर्शनमा राम–लक्ष्मणको प्रतीकको रुपमा एक जोडी बालकलाई जानकी मन्दिरको प्रांगणमा घुमाउने परम्परा रहेको छ। त्रेतायुगमा श्रीराम र लक्ष्मण गुरु विश्वामित्रसँग मिथिलाधाम घुम्न आउँदा नगर भ्रमण गरेको स्मरणमा नगरदर्शन गरिने गरिन्छ।राम र लक्ष्मणको चरित्र धारण गरेका बालकहरुलाई राम चरित्रमानस र रामायणका श्लोकलाई संगीतबद्ध गरी मन्दिरका पूजारीले मिथिलाको वर्णन गरेका थिए। त्रेता युगमा राम र लक्ष्मण मिथिला आएर नगरदर्शन गरेको तथा मिथिलाबासीले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गरेको मान्यता अनुसार नगरबासीले स्वागत गर्ने परम्पराअनुसार ‘नगरदर्शन’गराइएको छ।नगरदर्शनमा कृतिम नगरको परिकल्पना गरी भगवान् राम र लक्ष्मण सबैको द्वारद्वार (घरघर) मा जाने परम्परा अनुसार घरघरमा जान्छन्। दर्शनमा राम लक्ष्मणको दर्शन गर्न दर्शनार्थीको भीड लाग्छ।सात दिनमा नगरदर्शनका अतिरिक्त फूलबारी लीला, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा हुनेछ। रामजानकी महोत्सव हेर्न जनकपुरधाममा विशेष गरी भारतीय तथा आन्तरिक पर्यटकको भीड बढेको छ।तस्बिरहरू : पत्रकार घनश्याम मिश्र