जनकपुरधाम, २६ मंसिर । तराई मधेशमा एक सातायता एक्कासी बढ्दै गएको जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।शितलहर तथा बाक्लो हुस्सुका कारण यो साता जनकपुरधामबाट काठमाडौं उड्ने ४ वटा जहाजको उडान रद्द भएको छ ।

जनकपुरधामबाट काठमाडौं उडानका लागि १ हजार मिटर भिजिबिलिटि हुनुपर्नेमा ५ सय मिटर मात्र रहने गरेका कारण उडान रद्द गर्नुपरेको हो ।

जनकपुरधामबाट काठमाडौंकालागि दैनिक ८ वटा उडान हुने भएपनि अहिले दैनिक ५ वटा जहाजमात्र उड्ने गरेको जनकपुरधाम बिमानस्थल प्रमुख भिम दत्त पन्तले बताए । यता वातावरणमा एक्कासी परिवर्तन र चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो समेत बढेको हो ।

तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै गाईगोरु, खसीबाख्राजस्ता घरपालुवा जनावरलाई पनि थप असर परेको छ । अहिले जनकपुरधामको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।