जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा श्री सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा तीन दिनसम्म मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा/मासुको बिक्री वितरणमा रोक लगाएको हो ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउने सन्दर्भमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

सूचनाको विपरित निषेधित क्षेत्रमा उक्त कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनीसमेत दिइएको छ ।