जनकपुरधाम, २६ मंसिर । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

त्रेताकालमा भगवान राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भएको सम्झनामा हरेक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिको दिन पौराणिक विधि अनुरुप मनाइने सप्ताहव्यापी रामजानकी विवाह महामहोत्सवको पहिलो पाटो आज नगरदर्शन भइरहेको छ ।

गोस्वामी तुलसी दासकृत रामायणमा वर्णित भएनुसार मिथिला नरेश राजर्षि जनकद्वारा गरिएको प्रतीज्ञालाई अयोध्याका राजकुमार मर्यादा पुरुषोतम भगवान रामले धनुष भंग गरेर पुरा गरेकोले जगत जननी जानकीको विवाह उहाँसँग भएको थियो ।

यसपालि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म सप्ताहव्यापीरुपमा मनाइने श्रीरामजानकी विवाह महोत्सवको लागि स्वागतद्वार, पण्डाल निर्माण, निमन्त्रण पत्र वितरण, विवाहका सामग्रीहरु किनमेल लगायतका जोहो जोडतोडका साथ गरिरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशनदासले बताए ।

अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरिको नेतृत्वमा पौराणिक व्यवस्था अनुरुप विहेको जन्ती बाजागाजा र स्वर्णिम झाँकीसहित भगवान रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालिन रंगभूमि मैदानमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट मिथिला नरेश जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी सोही रंगभूमि मैदानमा पुर्याइन्छ ।

भगवान रामको स्वर्णिम डोलालाई जानकीको विशेष सुसज्जित डोलाले पाँचपटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयंवर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा रहि आएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज अपराह्न जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप बनाइ घुमाएर नगर दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।

महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुनेछ ।

विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षणको रुपमा रहेको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि सीताराम प्रतिमा निर्माण भइरहेको छ ।