जनकपुरधाम, २६ मंसिर । चुरे तथा वनजंगल संरक्षण अभियानले विभिन्न ७ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको छ ।

अभियानका राष्ट्रिय संयोजक सुनिलकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि अवैध नदी दोहन तत्काल रोक्नुपर्नेसहित विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनले पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा वातावरण मन्त्रालयमा विरोध जुलुस प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाउने, १२ गते मधेश प्रदेश प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउने, १३ गते मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने र १७ गते सप्तरीको सप्तकोशी व्यारेजबाट हुलाकी राजमार्ग हुँदै पर्साको वीरगञ्जसम्म चुरे संकल्प पद यात्रा गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

अवैध नदी उत्खनन बन्द गर्नुपर्ने, वन क्षेत्रमा वाटर रिचार्जको लागि ड्याम बनाउनुपर्ने, संघीय सरकारद्वारा नदीजन्य पदार्थ विदेश निकासी गर्ने गरी ल्याइएको विधेयक तत्काल खारेज गर्नुपर्ने अभियानको माग छ ।