सप्तरी, २५ साउन । सप्तरीका पत्रकारहरु स्थानीय प्रशासन विरूद्ध बिहिबारदेखी आन्दोलित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले पत्रकारलाई प्रशासन कार्यालयको फोटो–भिडियो नखिच्न सार्वजनिक सूचना जारी गरेपछि पत्रकारहरू आन्दोलित भएका हुन् ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बुधवार एक सूचना जारी गर्दे अनुमतिविना प्रशासन कार्यालय परिसरको फोटो भिडियो खिचेर सामाजिक सञ्जाल, अनलाइन तथा पत्रपत्रिकामा राख्न नपाइने भनेका थिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको उक्त सूचना संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीविरुद्ध भएको बताउँदै नेपाल पत्रकार महासंघ सप्तरीले बिहिबारदेखी आन्दोलन सुरु गरेको हो ।

पत्रकार महासंघ सप्तरीको कार्यालय अगाडिबाट निस्केको पत्रकारहरुको बिरोध रयाली राजविराजको बिभिन्न भागको परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि एक घण्टा धर्ना दिएको थियो ।

धर्नापछि आयोजित कोणसभामा वक्ता पत्रकारहरुले सप्तरीका सिडिओले संविधानप्रदत पूर्ण प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य गरेकोले कारवाहीको माग गरेका थिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनाले स्वतन्त्र रुपमा पत्रकारिता गर्न जिल्लामा असुरक्षा उत्पन्न भएको हुँदा शुक्रबारदेखी थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।