सिरहा, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा नक्कली खाता (फेक आईडी) बनाएर गाउँकै व्यक्तिहरूका तस्बिर तथा भिडियो अश्लील गीतसँग जोडेर सार्वजनिक गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार यादवले परिवारका सदस्यसहित गाउँका अन्य व्यक्तिहरूका तस्बिर तथा भिडियो प्रयोग गरी नक्कली टिकटक खाता सञ्चालन गरेको आरोप छ । उक्त खातामार्फत तस्बिर तथा भिडियो अश्लील गीतसँग जोडेर सार्वजनिक गरिएको थियो ।

सामग्री प्रसारण गर्दा आफ्नो चरित्रहत्या हुनुका साथै व्यक्तिगत गोपनीयतामाथि आघात पुगेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइल प्रयोग गरी फेक टिकटक आईडी बनाएको र त्यसबाट तस्बिर तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् ।

यादवलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।