रौतहट, १३ कार्तिक । रौतहटमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा गुजरा नगरपालिका–४ पोखरभिन्डा निवासी ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी रहेका छन् ।

उनी हाल बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए । दुर्घटनामा उनकी श्रीमती ३० वर्षीया निशा खड्का घाइते भएकी छन् । उनी पनि प्रहरी जवान हुन् ।

प्रहरीका अनुसार बिहीबार साँझ रौतहटको फतुवा विजयपुर नगरपालिका–११ मा ना २ त ४७८६ नम्बरको ट्याक्टर र बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकल चौधरीले चलाएका थिए भने पछाडि उनकी श्रीमती सवार थिइन् ।

दुर्घटनामा दुवै जना घाइते भएपछि उपचारका लागि वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहीबार राति करिब ८ बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।