जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको अयोध्यासम्म रामायण सर्किटअन्तर्गत विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा निकायका अधिकारीहरूबीच विभिन्न चरणमा छलफल भइरहेको छ । उद्घाटनको औपचारिक मिति भने अझै तय भइसकेको छैन ।

प्रधानमन्त्री शाहको मङ्सिर ६ गतेदेखि हुने तयारी रहेको भारत भ्रमणकै क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाइएको पराजुलीले बताए ।

जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत यात्रु आवागमन, सुरक्षा व्यवस्था, भन्सार तथा अन्य प्राविधिक पक्षलाई अन्तिम रूप दिने काम भइरहेको छ । नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको कम्पनीले जनाएको छ ।

यसैक्रममा केही दिनअघि नेपाल र भारतका रेल्वे, सुरक्षा, भन्सार तथा अध्यागमन अधिकारीहरूको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षणसमेत गरेको थियो ।

जनकपुरधामलाई सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा जोड्ने धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण प्रस्तावित रेल सेवा विशेष महत्त्वको मानिएको छ । सेवा सञ्चालनमा आएपछि रामायण सर्किटअन्तर्गत दुवै धार्मिक गन्तव्यमा पुग्ने तीर्थयात्री तथा पर्यटकलाई आवागमन सहज हुने विश्वास गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीतेन्द्र महासेठले यस सेवाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउनुका साथै धार्मिक पर्यटन र स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनमा आएपछि दुई देशका प्रमुख धार्मिक गन्तव्यबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने विश्वास लिइएको छ ।