सरकारद्वारा एन–प्याब्सन निलम्बित
जनकपुरधाम, १३ कार्तिक । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको हो ।
मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटकपटक अवज्ञा गर्दै आएको पाइएको छ ।
त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको पनि मन्त्रालयको ठहर छ ।
यसअघि मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा २०८२ मंसिर १२ गते जारी गरिएको निर्देशनअनुसारका कार्य गर्न आग्रह गरेको थियो । तर, मन्त्रालयले दिएको निर्देशनको पालना नभएको सूचनामा उल्लेख छ ।
निर्देशनको निरन्तर अवज्ञा र संस्थाको गतिविधि स्वीकृत विधान तथा उद्देश्यअनुरूप नभएको निष्कर्षसहित मन्त्रालयले एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले निलम्बनसम्बन्धी सूचना जारी भइसकेपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन नगर्न चेतावनीसमेत दिएको छ । त्यस्ता गतिविधि गैरकानुनी हुने जनाउँदै मन्त्रालयले संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।






