१५ वर्षदेखि अलपत्र कमला पुलको पुनर्निर्माणले लियो गति
जनकपुरधाम, १३ कार्तिक । धनुषा र सिरहालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुलको पुनर्निर्माणले गति लिएपछि लामो समयदेखि सास्ती भोग्दै आएका स्थानीय बासिन्दामा आशा पलाएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेका बेला बाढीका कारण पुल भासिएपछि निराश बनेका स्थानीय अहिले पुनर्निर्माणको काम अघि बढेसँगै पुल सञ्चालनमा आउने प्रतीक्षामा छन् ।
करिब १५ वर्षअघि निर्माण सुरु भएको कमला पुल लामो समयसम्म सम्पन्न हुन सकेको थिएन । निर्माण अन्तिम चरणमा पुगेका बेला करिब चार वर्षअघि आएको बाढीले पुलको एक भाग भासिएपछि आयोजना थप अन्योलमा परेको थियो । त्यसपछि पुल निर्माणको काम सुस्त हुँदा धनुषा र सिरहाका हजारौँ सर्वसाधारणको आवागमन प्रभावित हुँदै आएको थियो ।
अधुरा तथा अलपत्र आयोजनाको निर्माण सम्पन्न गर्न सरकारले कडाइ गरेपछि कमला पुलको पुनर्निर्माणले पछिल्लो समय गति लिएको हो । भासिएको संरचनाको पुनर्निर्माणसँगै पुललाई सुरक्षित र सञ्चालनयोग्य बनाउने काम अघि बढाइएको छ ।
कमला नगरपालिकाका नगरप्रमुख विशेश्वर यादवका अनुसार भासिएको स्थानमा नयाँ पिलर निर्माण भइरहेको छ । आवश्यकताअनुसार थप पिलर राखेर पुलको संरचना मजबुत बनाउने काम पनि भइरहेको उनले बताए । भासिएको भागको छाना पुनः ढलान गर्ने काम अघि बढेकाले यसपटक पुल निर्माण सम्पन्न हुनेमा स्थानीय आशावादी बनेको उनको भनाइ छ ।
कमला नदीमाथिको यो पुल सञ्चालनमा आए जनकपुरधामबाट सिरहा, सप्तरीलगायत हुलाकी राजमार्ग आसपासका सहर तथा बस्तीमा पुग्न सहज हुनेछ । अहिले लामो दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता हट्ने र धनुषा तथा सिरहाबीचको आवागमन छोटो हुने विश्वास गरिएको छ ।
पुल निर्माणमा भएको ढिलाइले स्थानीयलाई वर्षौँदेखि सास्ती दिँदै आएको छ । पुल सञ्चालनमा नआउँदा सर्वसाधारणले नदी वारपार गर्न जोखिमपूर्ण विकल्प अपनाउनुपरेको थियो । कतिपय अवस्थामा बाँसबाट बनाइएको अस्थायी लच्का तथा डुङ्गाको सहारा लिनुपर्ने अवस्था थियो । वर्षायाममा नदीको बहाव बढ्दा आवतजावत झनै कठिन र जोखिमपूर्ण हुने गरेको थियो ।
सवारी साधनबाट नदी पार गर्न नसकिने भएपछि स्थानीयलाई पूर्वपश्चिम राजमार्ग हुँदै लामो दूरी तय गर्नुपर्ने वा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसले दैनिक आवतजावत गर्ने सर्वसाधारण, विद्यार्थी, बिरामी, व्यापारी तथा यात्रुलाई प्रत्यक्ष असर पारेको थियो । पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयको समय र खर्च दुवै बढ्दै आएको थियो ।
कमला पुल निर्माणका लागि स्थानीय बासिन्दाले पटकपटक दबाबमूलक आन्दोलनसमेत गर्दै आएका थिए । जनकपुरधामलाई सिरहा र सप्तरीसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार भएकाले पुल चाँडो सम्पन्न गर्नुपर्ने उनीहरूको माग रहँदै आएको थियो । पुल निर्माणको विषय पटक–पटक उठे पनि कामले अपेक्षित गति लिन नसक्दा स्थानीयको असन्तुष्टि बढ्दै गएको थियो ।
स्थानीयले यसअघि मधेश प्रदेश सरकारसँग पनि पुल निर्माण सम्पन्न गराउन पहल गर्न आग्रह गरेका थिए । तर, हुलाकी राजमार्ग संघीय सरकार मातहतको आयोजना भएकाले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने विषय भन्दै प्रत्यक्ष रूपमा निर्माण अघि बढाउन नसक्ने जनाएको थियो । यसले पुल निर्माणको जिम्मेवारी र ढिलाइबारे विभिन्न तहका सरकारबीच प्रश्नसमेत उठाएको थियो ।
कमला नदीमाथि पुल नहुँदा धनुषा र सिरहाका स्थानीयबीचको सामाजिक, आर्थिक तथा व्यावसायिक सम्बन्धसमेत प्रभावित हुँदै आएको छ । पुल सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई बजार, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा अन्य सेवा केन्द्रसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुरधाम र सिरहा–सप्तरी क्षेत्रबीचको यातायात सम्पर्कमा सुधार आउने विश्वास गरिएको छ ।
लामो समयदेखि अलपत्र रहेको पुलको पुनर्निर्माणले गति लिए पनि स्थानीयको मुख्य चासो अब निर्माण कार्य कहिले सम्पन्न हुन्छ र पुल कहिलेदेखि नियमित रूपमा सञ्चालनमा आउँछ भन्नेमा केन्द्रित छ । विगतमा पटकपटक ढिलाइ र अवरोध भोगेका स्थानीय यसपटक निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुने अपेक्षामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर





