चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले गरे तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौँ, २५ साउन । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विरूद्ध तेस्रो चरणको आन्दोलनको घोषणा गरिएको हो । घोषित कार्यक्रमअन्तर्गत माइतिघर मण्डलामा धर्नादेखि लिएर शिक्षण संस्था बन्द गराउने सम्मका रहेका छन् ।
विहिवार काठमाडौं पत्रकार सम्मलेनको आयोजना गर्दै समितिका संयोजक निर्मल सापकोटाले सरकारका कारण आफूहरूको १५ अर्बभन्दा बढि लगानी जोखिममा पारेको बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ गठन भएदेखि हालसम्म २२८ शिक्षण संस्था बन्द भएको बताए। जसमा सीटीईभीटी अन्तरगतका प्रिडिप्लोमा तहका स्वास्थ विषयका १३७ वटा र स्टाफ नर्स ७३ वटा, विश्वविद्यालय अन्तर्गत स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा संस्था बन्द भएको बताए ।
उनीहरूले निरङ्कुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको तुरुन्त पुनःसंरचना हुनुपर्ने माग अघि सारेका छन् ।
त्यस्तै आयोग र सीटीईभीटीको बदनियतले बन्द भएका नर्सिङ कल्जहरूमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । आन्दोलनमा जानु आफूहरूको रहर नभई बाध्यता रहेको संयोजक सापकोटाले बताए । यो समस्या समाधानका लागि सरोकारवाला निकायसँग २०७६ सालदेखि नै छलफल गरिरहेको तर राज्यले नसुनेपछि अहिलेको समस्या आएको बताए ।
साउन २८ गते बाध्य भएर देशभरका सबै शिक्षण संस्थाहरू बन्दको आयोजना गरिएको बताए । यसअघि दुई चरणका आन्दोलनका कार्यक्रम गर्दा पनि राज्य मौन बसेको उनको भनाई छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


