जनकपुरधाम, २३ साउन। नेपाली कांग्रेसले आफ्नो प्रमुख भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमितिमा ईन्द्रजित गोईतलाई मनोनयन गरेको छ ।

नेविसंघको ३२ वर्ष मुनिको ७११ सदस्यमा गोईत चयन भएका हुन् ।

सानैदेखि राजनीतिमा रुची राख्ने गोईत २२ वर्षकै उमेरमा राजनीतिमा आएका हुन् । सुरुमा एनपिआई कलेज भरतपुर चितवनमा नेविसंघको एकाई अध्यक्ष भएका गोईत पछि नेविसंघको सिटिइभिटी मधेश प्रदेशको अध्यक्ष भएका थिए। उनी फेरी नेविसंघका जिल्ला उपसभापति बने । त्यसपछि नेपाली कांग्रेस प्रचार प्रसार विभागको जिल्ला सदस्य पनि भए ।

२०७९ साल बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा उनलाई नेपाली कांग्रेसको प्रचार प्रसार केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।

नेपाली कांग्रेसले गोईतलाई सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरेको हो । नियुक्त भएपछि गोईतले आफूलाई पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।

उनले भने, ‘ मलाई मेरो सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्छ । म पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नेछु ।’

दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० जनालाई मनोनयन गरेका हुन् ।

नेपाली कांग्रेसले लामो समयपछि नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन गरेको छ ।