काठमाडौँ, २३ साउन। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उनीमाथि संसदीय सुनवाइ प्रक्रिया सुरु भएको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिए ।

उनले भने, ‘सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धमा सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

हरिकृष्ण कार्की उमेरहदका कारण गत साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु गरिएको हो । संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।