काठमाडौँ, २३ साउन। संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री र सभामुखसहित बसेको बैठक बिना सहमति सकिएको छ ।

बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजानाएपछि एमालेले मंगलवार दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने जनाएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमतिको प्रयासस्वरुप सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा देखिएको बताए ।

उनले भने–‘बैठकमा केही पनि सहमति भएन । सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा देखापर्‍यो । उच्चस्तरीय छानबिन समिति बनाउँदा सबै हाम्रै मान्छे पो पर्ने हो कि भन्ने उहाँहरूलाई त्रास परेको देखिन्छ । संसद खुलाउन प्रतिपक्षको मागलाई सम्बोधन गर्नुपर्छ भन्नेमा उहाँहरु देखिनुहुन्न ।’

बैठकको सुरुमा सांसद, दलका नेताले संशोधन गर्दा बैठक अवरोध नगर्ने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर सो क्रममा आफ्नो माग संशोधन नभएर विरोध जनाउने सचेतक बर्तौलाले बताए ।

उनले भने–‘हाम्रो सिम्पल कुरा छ, ३ बजेको बैठकमा देशभरका माननीयहरूले आफ्नो भनाइ राख्दा बैठक अवरोध हुँदैन, दोस्रो कुरा दलको तर्फबाट बोल्छु भनेमा पनि सबै दलका नेतालाई बोल्न दिन पनि हामी तयार छौँ । गृहमन्त्री आएर बोल्नुहुन्छ भने पनि त्यसमा हामी अवरोध गर्दैनौँ । एक डेढ घण्टाको बिचमा हाम्रो माग केही हिसाबले पूरा गर्छु भनेर सरकार आयो भने त्यसलाई सहमत भएर धन्यवाद दिएर हामी अगाडि बढ्छौँ । तर हाम्रो माग संशोधन भएन भने तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हाम्रो माग निरन्तर रहनेछ ।’

सरकारले तस्करलाई संरक्षण गरिरहेसम्म एमालेले विरोध जारी राख्ने उनले बताए ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट भित्रिएको तस्करीको करिब एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै गत साउन १० गतेदेखि एमालेले संसदमा गतिरोध सिर्जना गर्दै आएको छ । सरकार र प्रमुख प्रतिपक्षी दल एमालेबीच सहमति जुट्न नसक्दा सोमबार २ पटक समय निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।