संसदीय समितिमा मिल्यो भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

काठमाडौँ, २२ साउन। दलहरूबीच संसदीय समितिको भागबण्डा मिलाएको छ । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूले संसदीय समितिको भागबण्डा टुंगो लगाएका हुन् ।
नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको भागबण्डा मिलेको बताएका थिए । आज बस्ने शीर्ष नेताहरुले त्यसलाई अन्तिम रुप दिने तयारी छ ।
सहमतिअनुसार कांग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ ।
संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई भने समितिको नेतृत्व भागमा परेको छैन । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का २० र राप्रपाका १४ सांसद छन् ।
प्रारम्भिक सहमति अनुसार नेपाली कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समिति पाउने छ । त्यस्तै लेखा, महिला र राज्यका निर्देशक सिद्धान्त समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाउने सहमति छ ।
त्यस्तै विकास र कानुन समिति माओवादी केन्द्रले पाउने छ भने अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले पाउने सहमति भएको छ । त्यस्तै उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छ । थप समितिको बारेमा नेताहरूबीच छलफल भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


