एमालेसँग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्ने गरी एकीकृत समाजवादीभित्र छलफल

काठमाडौँ, २१ साउन। नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधारले नेकपा एमालेसँग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्ने गरी छलफल थालिएको बताएका छन् ।
आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उनले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटब्युरोको बैठकमा समेत एमालेसँगको विद्रोह र औचित्य स्थापित गर्ने गरी जोडदार छलफल हुने बताए ।
उनले भने, ‘हामी सम्भवतः माघको दोस्रो सातातिर पार्टीको महाधिवेशन गर्छौँ होला र त्यो महाधिवेशन अगाडि कमसेकम पनि एक लाख सदस्य बनाउने टार्गेट हामीले पूरा गर्नुपर्ने हुन्छ । त्यही एक लाख सदस्यबाट नै आगामी केन्द्रीय कमिटी निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो समग्र मनशाह भनेको मन, वचन र कर्मले हामीले बलियो, विश्वासिलो, भरपर्दो र रहरलाग्दो पार्टी बनाउने लक्ष्य छ । विद्रोहको औचित्य पनि त्यहीबाट स्थापित र पुष्टि हुन्छ भन्ने हाम्रो विश्वास छ । यी सबै कुराले गर्दा अहिले यिनै विषयमा मनग्य छलफल भइरहेको छ ।’
उनले पार्टीका नेताले आफू र पार्टीको कार्यलाई समेत केन्द्रमा राखेर आत्मालोचना सहित खुलस्त र निर्मम समीक्षा गरिरहेको जिकिर गरे । नेकपा एसकै नेताहरूले संसदमा पार्टीको भूमिकालाई लिएर प्रभावकारी हुन नसकेको खरो टिप्पणी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


