जनकपुरधाम, १३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको समर्थक समूह ‘बोल्ट्स बटालियन’ले महिनावारी स्वच्छता र सचेतना अभिवृद्धिका लागि ‘डट फर डिग्निटी’ अभियान सुरु गरेको छ ।

क्रिकेटलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्रै सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउने उद्देश्यसहित समूहले यो अभियान अघि सारेको हो ।

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले खेलका क्रममा फाल्ने प्रत्येक ‘डट बल’ बराबर मधेश प्रदेशका ग्रामीण क्षेत्रमा एक थान सेनेटरी प्याड वितरण गरिनेछ । मैदानमा ब्याटरले रन बनाउन नसकेको प्रत्येक बललाई ग्रामीण क्षेत्रका किशोरी तथा महिलाको महिनावारी स्वच्छतामा सहयोग पु¥याउने अवसरका रूपमा बदल्ने अभियानको अवधारणा छ ।

बोल्ट्स बटालियनका प्रतिनिधि जयकृष्ण महतोका अनुसार प्याड वितरणसँगै ग्रामीण क्षेत्रमा महिनावारीसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिनेछ । महिनावारीका बेला अपनाउनुपर्ने सरसफाइ, सेनेटरी प्याडको प्रयोग र सुरक्षित व्यवस्थापनबारे जानकारी दिने उद्देश्य अभियानले राखेको उनले बताए ।

उनका अनुसार क्रिकेटप्रति युवापुस्ताको आकर्षण र जनकपुर बोल्ट्सप्रतिको समर्थकको उत्साहलाई सामाजिक अभियानसँग जोडेर सकारात्मक सन्देश प्रवाह गर्न खोजिएको हो । खेलको हरेक डट बललाई सामाजिक उत्तरदायित्वसँग जोड्दा खेलाडी, समर्थक र समुदायबीच सामाजिक अभियानप्रतिको सहभागिता पनि बढ्ने विश्वास गरिएको छ ।

समाजमा अझै पनि महिनावारी र सेनेटरी प्याडबारे खुलेर कुरा गर्न अप्ठेरो मान्ने प्रवृत्ति कायम छ । कतिपय किशोरी तथा महिलाले महिनावारीका विषयमा परिवार र समुदायमा समेत सहज रूपमा कुरा राख्न नसक्ने अवस्था छ । सेनेटरी प्याड प्रयोग गर्न वा बोकेर हिँड्नसमेत लाज मान्ने सामाजिक सोचका कारण महिनावारी स्वच्छतासम्बन्धी समस्या थप जटिल बन्ने गरेको अभियानकर्ताहरूको बुझाइ छ ।

बोल्ट्स बटालियनका अशोक अधिकारीका अनुसार महिनावारी कुनै लज्जा वा लुकाउनुपर्ने विषय नभई महिलाको जीवनसँग जोडिएको स्वाभाविक जैविक प्रक्रिया हो । यसलाई सम्मान, स्वास्थ्य र स्वच्छतासँग जोडेर समाजमा सकारात्मक सोच विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।

अधिकारीले महिनावारीबारे रहेको संकोच र सामाजिक भ्रम हटाउन किशोरी तथा महिलासँगै पुरुष र परिवारका सदस्यलाई पनि सचेत बनाउनु आवश्यक रहेको उल्लेख गरे । प्याड वितरणले तत्कालीन आवश्यकतामा सहयोग पु¥याउने भए पनि सचेतना कार्यक्रमले दीर्घकालीन रूपमा व्यवहार र सोच परिवर्तन गर्न मद्दत गर्ने विश्वास आयोजकको छ ।

मधेशका ग्रामीण क्षेत्रमा महिनावारी स्वच्छतासम्बन्धी सामग्रीको सहज उपलब्धता र त्यसबारे पर्याप्त जानकारीको अभाव चुनौतीका रूपमा रहँदै आएको छ । यस्तो अवस्थामा खेलसँग जोडिएको अभियानले महिनावारीलाई सामान्य स्वास्थ्य विषयका रूपमा स्थापित गर्न र यसबारे समुदायमा संवादको वातावरण बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

बोल्ट्स बटालियनले यसअघि पनि खेलकुदलाई सामाजिक जिम्मेवारीसँग जोड्दै आएको छ । एनपीएलको पहिलो र दोस्रो सिजनमा समूहले ‘आफ्नो खेलमैदान फोहोर नगरौँ, भए आफैँ सफा गरौँ’ भन्ने नारासहित रंगशाला सरसफाइ अभियान सञ्चालन गरेको थियो । खेल हेर्न आउने दर्शकलाई आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न प्रेरित गर्दै रंगशालाको वातावरण स्वच्छ राख्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको थियो ।

यस वर्ष पनि सरसफाइ अभियानलाई निरन्तरता दिँदै समूहले महिनावारी स्वच्छतासम्बन्धी नयाँ अभियान थपेको हो । यसले खेलकुदका समर्थक समूह पनि सामाजिक सचेतना, वातावरण संरक्षण र समुदायको हितमा सक्रिय हुन सक्छन् भन्ने सन्देश दिन खोजेको छ ।

जनकपुर बोल्ट्सका बलरले फाल्ने प्रत्येक डट बललाई प्याड वितरणसँग जोड्ने अवधारणाले क्रिकेटको मैदान र ग्रामीण समुदायबीच नयाँ सम्बन्ध स्थापित गर्ने विश्वास गरिएको छ । मैदानमा बनेको एउटा डट बलले ग्रामीण क्षेत्रका कुनै किशोरी वा महिलाको महिनावारी स्वच्छतामा सहयोग पु¥याउने अभियानको लक्ष्य छ ।