काठमाडौँ, २० साउन । भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

उद्धार गरिएकाहरुको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन तथा स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न कांग्रेसले सरकारसँग माग गरेको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी विज्ञनितमा भनिएको छ, ‘ पहिरोमा परेर नेपाली नागरिक बेपत्ता भएको खबर अत्यन्तै दु:खद छ । बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको छ । यस दु:खद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति नेपाली कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गर्दछ ।’

बिहीबार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन । उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । पहिरोमा परी जुम्ला जिल्लाका १० र हुम्लाका ३ जना बेपत्ता भएका हुन । जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।