काठमाडौँ, २० साउन । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने बताएका छन् ।

समाजवादी इजनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरूलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईहरूको छ, विकासको रोड म्याप बनाउने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रुपमा हामी सहयोग गरौंला त्यसको खाका तपाईहरुले बनाउँने हो । ’

मन्त्री ज्वालाले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शैितले समाजवाद पनि ल्याउन सक्ने बताए । उनले आफुहरू यो आँटका साथ अभियानमा होमिएको बताए ।

उनले भने, ‘धेरै समस्या र चुनौतीहरुको बीचमा केही आशा दिने गरि सरकारले काम गरेको छ । भ्रष्टाचारीहरूको विरुद्धमा अभियान चलाएको छ, त्यसमा सफल हुन्छौँ । जनतालाई सेवा सुविधा दिने प्रयासमा छौँ ।’

मन्त्री ज्वालाले यातायात व्यवस्थामा पनि धेरै समस्याहरू रहेको चर्चा गर्दै त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले योजनाहरु समयमा सम्पन्न गर्न आग्रह गर्दै हरेक योजनामा प्रगति देखिनु पर्ने र गुणस्तर पनि हुनु पर्ने बताए ।