स्थानीय जनप्रतिनिधिलाई जनमत पार्टीको प्रशिक्षण

काठमाडौ, १९ साउन । जनमत पार्टीले स्थानीय तहका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिइरहेको छ ।
पार्टीले काठमाडौँमा विभिन्न पालिका तथा वडामा जितेका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको हो । जनमत पार्टीले यसअघि वडा, जिल्ला, प्रदेश, राष्ट्रिय परिषद्, केन्द्रीय समिति र सांसदहरुलाई प्रशिक्षण दिइसकेको छ ।
जनमत पार्टीका एक पदाधिकारीले भने, ‘हाम्रो पार्टीमा कतिपय यस्ता जनप्रतिनिधि छन, जसलाई पार्टीका बारेमा केही थाहा छैन, अध्यक्षबाहेक अरु कसैलाई पनि चिन्दैन्, पार्टीको सिद्धान्त, विचार र एजेण्डा पनि थाहा छैन । उनीहरु पार्टीको धारभन्दा फरक धारमा हिँडिरहेका छन् । त्यसैले उनीहरुलाई प्रशिक्षण दिइरहेका छौं ।’
चुनावको समयमा उम्मेदवार समेत नभेटिएको बताउँदै उनले भने, ‘जो सम्पर्कमा आए उनैलाई चुनावको मैदानमा उतारिएकोले पनि अहिले प्रशिक्षण आवश्यक छ । अब उनीहरुलाई पार्टीको लाइनअनुसार प्रशिक्षित गरेर पालिकामा पठाउने तयारी छ ।’
जनताको पक्षमा काम गर्न पार्टीले केही एजेण्डा तय गरेको बताउँदै उनले चुनावमा जनतासँग गरिएका वाचाअनुसार स्थानीय प्रतिनिधिलाई काम गर्नका लागि प्रशिक्षण आवश्यक रहेको बताए ।
जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा १९ वटा वडाअध्यक्ष, दुईटा पालिका अध्यक्ष र एउटा पालिका उपाध्यक्ष जितेको छ । सो पार्टीका वडा सदस्यसहित ९५ जना जनप्रतिनिधि रहेका छन् भने कार्यपालिकामा १० जना प्रतिनिधि रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


