काठमाडौ, १९ साउन । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही फुकुवा गरेको छ ।

मंसिरमा सम्पन्न आम चुनावमा चितवन–३ मा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएपछि कोइराला पार्टीबाट स्वतः निष्कासनमा परेका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका कोइरालालाई नेकपा एमालेले पनि समर्थन गरेको थियो । तर, कोइराला राप्रपाका विक्रम पाण्डेसँग पराजित भए । चुनावताका कोइराला एमाले प्रवेश गर्ने चर्चा थियो । कोइराला भने कांग्रेसकै राजनीतिक गतिविधिमा फर्किए ।

वैशाख १० मा भएको उपनिर्वाचनमा कोइरालाले चितवन–२ मा पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठको पक्षमा खेलेर लागेका थिए । सोही क्रममा उनले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएर गल्ती भएको स्वीकार गर्दै कांग्रेस अनुशासन समितिमा पत्र पठाएका थिए । अनुशासन समितिले त्यसपछि कोइरालाको कारबाही फुकुवा गरेको बुझिएको छ । कोइरालाका साथै चितवन पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भिमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलको कारबाही पनि फुकुवा गरेको अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बताए ।

उनले भने, ‘केन्द्रीय सदस्य दिनेश कोइरालासहित तीन जनाको कारबाही फुकुवा भइसकेको छ । मेरो प्रतिवेदनमा उहाँको नाम थियो । बैठकले अनुमोदन गरिसकेपछि कारबाही फुकुवा भइसक्यो ।’

बैठकमा खुला रुपमा भन्न नचाहेको भन्दै लिखित रुपमा कोइरालाको कारबाही फुकुवा भएको उनले बताए । ढुंगानाले भने, ‘अब दिनेश कोइराला पार्टीको पूर्ववत् जिम्मेवारीमा फर्किनु भयो । असोज २ गते बस्ने केन्द्रीय समिति बैठकमा उहाँ सहभागी हुन पाउनुहुन्छ ।’