जनमतमा २० लाख सदस्य बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन

काठमाडौँ, १८ साउन । जनमत पार्टीले २० लाख सदस्य बनाउन निर्देशन दिएको छ । भर्खर सम्पन्न राजनीतिक समिति र कार्यकारिणी समितिको बैठकले पार्टीका पङ्क्तिलाई सो निर्देशन दिएको हो ।
पछिल्लो समय जनमतले राजनीतिक समितिदेखि लिएर सचिवालय, कार्यकारिणी समिति पनि विस्तार गरेको छ । नयाँ सदस्यहरूसँग छलफल गर्नका लागि बुधवार राजनीतिक समिति र कार्यकारिणी समितिको छुट्टा छुट्टै बैठक बसेको थियो ।
बुद्ध नगरको एक पाटी प्यालेसमा केन्द्रीय समितिको बैठक बस्नुअघि सुरुमा राजनीतिक समितिको बैठक बसेको थियो । त्यसपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । दुवै बैठकको अध्यक्षता पार्टीका अध्यक्ष डा. सीके राउतले गरेका थिए । २०८४ मा जनमत पार्टीलाई मधेसको पहिलो पार्टी बनाउनु छ, त्यसका लागि निकै मेहनत गर्नुको आवश्यकता छ भन्दै अध्यक्ष राउतले पार्टीमा धेरैभन्दा धेरै नयाँ नयाँ सदस्यलाई जोड्न निर्देशन दिए ।
पार्टीका एक केन्द्रीय सदस्यले जिम्मेवारी लिएर नै कति जना सदस्य थप्न सकिन्छ त्यो तय गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्न निर्देशन दिँदै चुनाव आउँदासम्म २० लाख सदस्य बनाउन उनले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए ।
अध्यक्ष राउतले पटक पटक समितिका सदस्यहरूलाई सङ्गठनप्रति जिम्मेवार र जबाफदेही हुनका लागि आग्रह गरेका थिए । पछिल्लो समय बढ्दै गएको राजनीतिक चुनौतीको बारेमा पनि उनले बैठकमा चर्चा गरेको सहभागी एक नेताले बताए ।
दुवै समितिको बैठक सकिएको छ, खाना खाएर केन्द्रीय समितिको बैठक बस्ने भएको छ । मिसन ८४ अन्तर्गत जनमत पार्टीले विभिन्न तहमा प्रशिक्षण दिँदै आएको छ । वडा तहदेखि सुरु भएको प्रशिक्षण जिल्ला इन्चार्ज, मधेस प्रदेश र लुम्बिनी प्रदेश समितिमा पनि प्रशिक्षण सकिसकेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई समेत धुलिखेलमा लगेर दुई दिनसम्म प्रशिक्षण दिएको थियो । बुधवार मात्रै राष्ट्रिय परिषद्को बैठक सम्पन्न गरेको छ । विहिवारदेखि केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


