कोशी प्रदेशमा तीन मन्त्री नियुक्त हुँदै

विराटनगर, १७ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधवार तीन मन्त्रीको जिम्मेवारी तोक्ने भएका छन् । मुख्यमन्त्री थापाले बुधवार साँझ ५ बजे शपथ लिएपछि तीन मन्त्री नियुक्त हुनेछन् ।
जसमा आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, भौतिक पूर्वाधारमा प्रदीपकुमार सुनुवार र खानेपानी सिँचाइ तथा ऊर्जामा प्रदीपकुमार सुनुवारले जिम्मेवारी पाउने भएका छन् ।
गौतम माओवादी, जबेगु नेकपा एस र सुनुवार कांग्रेसबाट मन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको तयारी ५ बजेका लागि गरिएको छ ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै क्याबिनेटका मन्त्री दोहोरिने सङ्केत गरेका थिए । यसअघि कांग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री, माओवादीबाट जीवन आचार्य, राजेन्द्र कार्की मन्त्री बनेका थिए ।
उनीहरूमध्ये आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मा पाए पनि अरू मन्त्रीहरू जिम्मेवारीविहीन थिए । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले उनी माओवादी संसदीय दलका सदस्य कायम रहेको र गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद पुगेको हो । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले मङ्गलवार नै पदबाट राजीनामा दिएका थिए ।
यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो । थापा यसअघि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सर्वोच्चले साउन ११ गते बर्खास्त गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


