विराटनगर, १६ साउन। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखलाई राजीनामा गराएर सत्तामा जान खोजेर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा मंगलवार संचारकर्मीसँग कुरा गर्दै कार्कीले यस्तो बताएका हुन् । ‘कांग्रेस सोमवार असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, मंगलवार सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ । तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन,’ उनले भने, ‘केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्छ । एमालेले त्यो काम गर्छ ।’

कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिए । ‘कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्था छ, अन्योलको अवस्था छ, यसबाट बाहिर निकाल्न सक्नुपर्छ,’ उनले भने, ‘तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा देखिएको छैन ।’