प्रतिनिधिसभाको जारी अवरोध हटाउन सभामुखले बोलाए समितिको बैठक

काठमाडौँ, १६ साउन। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको जारी अवरोध हटाउन मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद अवरोध हटाउने विषयमा छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेले मंगलवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए । ‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो,’ सभामुखलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो ।’
सभामुख घिमिरेले सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग समेत पटकपटक छलफल गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


