काठमाडौँ, १६ साउन। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबारका लागि बोलाएको प्रतिनिधि सभा बैठक पनि अवरोध गर्ने भएको छ ।

एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन सरकार सकारात्मक नभएकाले
मंगलबारका बैठक पनि अवरोध गर्ने तयारी रहेको बताए । सोमबारको बैठक पनि सूचना टाँस गरेर मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको थियो ।

‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएन, हामीले छानबिन समिति नबनाई बैठक अघि बढ्न सक्दैन भनेर भनिसकेका छौ’, बर्तौलाले भने, ‘दुवै पक्ष आआफ्ना अडानबाट पछि नहटेपछि सदन चल्न सक्ने कुरै भएन ।’

सदन खुलाउनेबारे सोमबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको संवादमा प्रधानमन्त्री प्रचण्ड छानबिन समिति बनाउन सकारात्मक नभएको एमाले नेताहरूले बताएका छन् ।

‘हिजो प्रधानमन्त्री र हाम्रो अध्यक्ष केपी शर्मा ओलीबीच संसद्को अवरोध हटाउनेबारेमा भएको छलफल सकारात्मक हुन सकेन । सरकारले कुनै हालतमा छानबिन समिति बनाउन सकिँदैन भन्ने अडान छोडेको छैन । उसले त्यो अडान नछोड्दासम्म सहमति जुट्ने सम्भावना छैन’, वर्तौलाले भने, ‘यति गम्भीर विषयमा पनि सरकार संवेदनशील हुन सकेन ।’

नेकपा एमालेले गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । झन्डै सय क्विन्टल तस्करीको सुन भन्सारबाट पास भएपछि राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको विषयलाई लिएर सत्ता र प्रमुख प्रतिपक्षबीच जुहारी चलिरहेको छ । सुन तस्करी प्रकरणमा सरकारले तिव्वतियन मूलको बेल्जियन नागरिक दावा छिरिङसहित १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक कम्तीमा एक साताका लागि स्थगित गर्ने तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकका कारण संसद् बैठक एक साता स्थगित गर्ने तयारी गरेको संसद् सचिवालय स्रोतले जनाएको छ ।