काठमाडौं, १४ साउन । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।

आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका  नेताहरुले एकीकरण भएको घोषणा गरेका छन् ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले मधेशवादी दलहरुले आफूसँग धोखा गरेको आरोप लगाए ।

उनले जनकपुर जान नदिनका लागि मधेशवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टीका कार्यकर्तालाई दिएको आरोप लगाए । मधेशको आन्दोलनका लागि लड्दा आफू साढे ८ वर्षसम्म जेलमा बस्नुपरेको नेता चौधरीले बताए ।

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।