काठमाडौँ, ११ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको स्थायित्वका तीन पिल्लर मध्ये राजसंस्था र हिन्दु राष्ट्र हटाइएको र अन्तिम खम्बाको रूपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताए । उनले सेना बिनाको राज्य बनाउने प्रस्तावसमेत कतिपयले गरिरहेको भन्दै यो दुःखको कुरा भएको बताए । उनले वडा तहदेखि प्रतिनिधि सभासम्मका सदस्यहरू कटौती गरेर खर्च कम गर्नुपर्ने बताए ।

उनले प्रतिनिधि सभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको र प्रदेश संरचनाको पनि काम नरहेको जिकिर गरे । उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने भन्दै अझै सशक्त, आधुनिक र हतियार सम्पन्न नेपाली सेना बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने, ‘नेपाल जस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काढेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ । यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ । अनावश्यक तह जस्तो प्रदेश कुनै काम नै छैन, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटा काम नै छैन, कुनै औचित्य छैन, राष्ट्रिय सभा खारेज गर्ने प्रतिनिधि सभा सदस्य घटाउनुपर्छ ।’

अध्यक्ष लिङ्देनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्नुपर्ने र अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा विरोध गर्ने चेतावनी दिए । उनले सामान्य मानिसले एक अर्ब बढीको सामान एकै पटकमा ल्याउने कल्पना नगर्ने भन्दै सामान्य नागरिकलाई समाएर कम्पनी मालिकलाई समाएँ भन्ने फुर्ती नलगाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चेतावनी दिए । उनले सुन तस्करी प्रकरणमा ठूलो तहका मानिसको संलग्नता रहेको सहजै कल्पना गर्न सकिने भन्दै अनुसन्धान पूर्ण रूपमा हुनुपर्ने बताए ।

उनले भने, ‘सुन काण्डमा संलग्न मानिसको जरासम्म नै पुग्नुपर्छ । दोलखाको २१ वर्षीय केटो जसको घरमा बिहान बेलुका खानको राम्रो बन्दो बस्ती छैन । उसले एक अर्बको सामान एकै दिनमा ल्याउने कल्पना गर्न सकिँदैन । कम्पनी मालिकलाई पक्राउ गरेँ भनेर जुँगामा ताउ लगाउने भनेर ठूलै काम गरेँ भनेर भन्दा कसैले पत्याउँदैन, ठूला मान्छेको नाम आएको छ, अनुसन्धानको दायरामा आउनुपर्छ ।’

अध्यक्ष लिङ्देनले सुन काण्डसँग सम्बन्धित विषयमा सबै दलले छानबिन समितिको माग गरेकाले छानबिन समिति नभएसम्म १५ गतेको संसद बैठकमा पनि विरोध हुने चेतावनी दिए ।