राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्नेमा नदिएको भनी राष्ट्रिय सभामा प्रश्न उठाएको छ ।
बिहीबार बसेको बैठकमा विशेष समय लिएर राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल गृहमन्त्रीले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा अनावश्यक टिप्पणी गर्दै हिंडेको बताए ।
‘विमानस्थलको सुरक्षा छिचोल्दै सय किलो सुन बाहिर पक्राउ खान्छ भने त्यसै दिन मैले सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सकिन भनेर विमानस्थल भन्सारसँग सम्बन्धित सुरक्षा संयन्त्रलाई सस्पेन्स गर्दै सम्मानित सदनलाई समेत सम्बोधन गर्दै राजीनामा दिनुपर्ने हो । तर, त्यसो भएको छैन्,’ दाहालले भने ।
नेता दाहालले अगाडि भने–‘यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताबिना सम्भव होला र ? त्यसैले यो विषय अब नैतिकताको विषय मात्र रहेन । अब हामीले यसलाई नैतिकताको विषय भनेर उठाउन खोजिरहेका छैनौँ । ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो । अब त यो विषय गृहमन्त्री, अर्थमन्त्री हुँदै विमानस्थल सुरक्षासँग सम्बन्धित सम्पूर्ण सुरक्षा संयन्त्र र भन्सारमा कार्यरत सम्पूर्ण संयन्त्र अनुसन्धानको घेरामा आएको छ । अब त उहाँ अनुसन्धानको घेरामा रहनुपर्छ भन्ने हाम्रो भनाई छ ।’
नेता दाहालले सरकारले नै तस्करीलाई सहयोग गरेकोले छानबिन गर्न नसक्ने भन्दै सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


