मधेसका किसानलाई राहत दिन कांग्रेसको माग

काठमाडौं, १० साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सम्पन्न भएको छ ।
यही साउन २ गतेदेखि सञ्चालन भएको बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताए ।
सभापति देउवाले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गरे ।
सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिए । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्ने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो ।
कांग्रेसले आगामी मंसिरमा महासमिति बैठक गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले आगामी मंसिर मंसिर ११, १२ र १३ गते महासमितिको बैठक गर्ने निर्णय गरेको हो ।
१४ औं महाधिवेशनका बेला २०७८ मंसिरमा नेतृत्व मात्रै चयन गरेर नीति अधिवेशन ६ महिनाभित्र गरिने निर्णय भएको थियो। तर, नीति अधिवेशनको सट्टा कांग्रेसले महासमिति बैठक बोलाएको छ।
महासमिति बैठक काठमाडौंमा बस्नेछ। यस्तै सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान र भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
कांग्रेसले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न र किसानलाई राहत दिन सरकारलाई माग गरेको छ ।
शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए ।
यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


