काठमाडौं, ९ साउन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको दाबी गरेका हुन् ।

निधिले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्ने कुरा नरहेको बताए । ‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरू त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै छ,’ उनले भने ।

निधिले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए । उनले कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताए ।

उनले एकतावद्ध भएर लोकतन्त्रको पक्षमा काम गर्ने कुरामा केन्द्रीय समितिको बैठकमा छलफल भएको बताए ।