भुक्तानी माग्दै राजविराज नगरपालिकामा तालाबन्दी

सप्तरी, २५ असार । विकास निर्माणको काम सकिए पनि भुक्तानी नदिएको भन्दै सप्तरीको राजविराज नगरपालिकामा तालाबन्दी गरिएको छ ।
उपभोक्ता समिति र विभिन्न फर्मका सञ्चालकहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सडक बोर्डका योजना, सशर्त अनुदान अन्तर्गतका योजना, वडास्तरीय योजनासहितका विभिन्न योजनामा काम सम्पन्न भइसकेको भन्दै भुक्तानी नदिएको आरोप लगाउँदै उनीहरु धर्नामा बसेका छन् ।
स्थानीय उपभोक्ता विनोद यादवले काम सम्पन्न भइसकेछि अनुगमन गरेर पनि भुक्तानी नदिइएको बताए । उनले ऋण, सापटी र उधारोमा सामान खरिद गरी काम गरेको र अहिले भुक्तानी नदिएर नगरपालिकाले आफूहरूलाई अलपत्रमा पारेको आरोप लगाए ।
भुक्तानीको मागसहित नाराबाजी गर्दै उनीहरु कार्यालय परिसरमा धर्नामासमेत बसेका थिए । चालु आर्थिक वर्षको भुक्तानीको चेक काट्ने समय असार २४ गते आइतबार राति १२ बजेसम्म मात्र रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


