काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई कुनै स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा माग्नु संसदीय मर्यादा नभएको बताएका हुन् ।

विगतमा शान्ति प्रक्रियामा आइसकेपछि आफ्ना तर्फबाट भएका कमीकमजोरीका सन्दर्भमा आत्मसमीक्षा र आत्मस्वीकृति गर्दै आएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले आफूले कहीँ कहिल्यै पनि मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता नगरेको र गर्न नसक्ने बताए । सङ्कटको समयमा र गम्भीर राष्ट्रिय मुद्दामा आफूले सधैँ सहमति र सहकार्यलाई नै अगाडि बढाएको प्रधानमन्त्रीको भनाइ छ ।

आफूले सार्वजनिक र अन्य स्थानमा समेत मनले बोल्ने गरेको स्पष्ट पार्दै उनले भने, ‘प्रधानमन्त्रीका रूपमा दिमागले बोल्नुपर्ने हो । यस विषयमा सैद्धान्तिक ज्ञान नभएको होइन ।’ मनभित्र आफ्नो कुनै नियत नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूले आत्मसमीक्षा गरेको बताए ।