काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने विश्वास आफूमा नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने क्रममा उनले लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको बताएका हुन् ।

आफू पहिल्यै दुईपटक प्रधानमन्त्री भइसकेको र परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताउँदै उनले भने, ’म तेस्रोपटक प्रधानमन्त्री हुँदा मलाई जनतालाई केही भन्नु छ, के गर्नु छ भनेर भनेको थिएँ, त्यहीअनुसार गर्दै आएको हुँ ।’

अहिले पनि लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको उल्लेख गर्दै उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन । तर जति समय हुन्छु, योपटक म जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने ठानेको छु । त्यही गर्दै छु ।’

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयं र अहिलेको सरकार गम्भीर रहेको बताए । ’यो विषयमा म र सरकार गम्भीर छौं,’ उनले भने ’अहिले प्रतिपक्ष दलहरूले पनि यति प्रतिबद्धता देखाइसकेपछि मिटरब्याज सम्बन्धी कानुन संसद्बाट पास हुन्छ भन्नेमा म ढुक्क भएको छु ।’

भारतीय सरदार प्रितम सिंहको विषयमा दिएको विवादित अभिव्यक्ति भावनामा आएर बाहिरिएको भन्दै उनले आत्मालोचना गरेका थिए । तर, आफू सार्वभौमसत्ताका लागि सधैँ प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालले बताए ।

–फरकधार