सट्टेबाजी आरोपमा बल्छी ध्रुब्रेसहित ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २५ असार । क्रिप्टो कारोबार, सट्टेबाजी र गैरकानुनी विज्ञापन प्रसारण गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ बल्छी ध्रुब्रे, राजु पौडेल राजु मास्टरसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको हो ।
सट्टेबाजी गर्न प्रयोग भएको वानएक्सबेटसम्बन्धी विज्ञापन आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गराएको भन्दै कलाकारहरू बेगम नेपाली (भटभटे), रोशन खतिवडा, अलिस राई, जलन घर्तीमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेलविरुद्ध पनि विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ ।
त्यस्तै दिनेश खड्का र अनिता धितालसँग क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँको बिगो दाबी गरिएको छ । उक्त कसुरमा उनीहरूविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ ।
उक्त मुद्दामा अभियुक्त बनाइएकाहरूको सोमबारदेखि न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा बयान हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


