काठमाडौं, २४ असार । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न ४ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरेर त्यसको जानकारी दिएको हो ।

लुटपाट कार्यमा संलग्न रहेको आरोपमा रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

पछिल्लो एक महिनायता विशेष गरी मर्निङ वाकमा निस्किने महिलाहरूको घाँटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए ।

लुटपाटमा मोटरसाइकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरूको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुट्ने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाइकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोबाइल सेट बरामद गरिएको छ ।

लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरूको पनि खोजी भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।