महोत्तरी, २४ असार । मालपोत र नापी कार्यालयको सेवा कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै महोत्तरीको रामगोपालपुरमा प्रदर्शन गरिएको छ ।

जिल्लाको पायक पर्ने स्थान रामगोपालपुरमा सेवा कार्यालय स्थापना गर्नुपर्ने मागसहित स्थानीयले बजार र सडक बन्द गर्दै आन्दोलन सुरु गरेका हुन् ।

जलेश्वरस्थित मालपोत र नापीको सेवा कार्यालय गौशालामा स्थापना गर्ने भनी २ वर्ष पहिले सरकारले निर्णय गरेको थियो ।

२०७८ चैत २२ गते नेपाल सरकारले गौशालामा सेवा कार्यालय स्थापना गर्ने भनी गरेको निर्णय अव्यवहारिक र अपरिपक्क भएको र जिल्लाको पायक स्थानमा सेवा कार्यालय स्थापना गर्नुपर्ने रामगोपालपुर नगरपालिकाका मेयर रामदुलार साहले बताए ।

गौशालामा कार्यालय स्थापना हुँदा जिल्लाको मनराशिस्वा, रामगोपालपुर, लोहारपट्टि, औरही, सोनमा र सम्सीका स्थानीयलाई सेवा लिन पायक पर्ने मेयर साहको भनाइ छ ।

विरोधस्वरुप आइतबार ४ घण्टा बजार र सडक बन्द गरिएको आन्दोलन समितिका संयोजक वैद्यनाथ साहले जानकारी दिए ।

मेयर साहसहितको नेतृत्वमा भएको आन्दोलनले गौशालामा सेवा कार्यालय स्थापना गर्ने निर्णय बदर गराई रामगोपालपुरमै कार्यालय स्थापना गर्न कडा आन्दोलन गर्ने आन्दोलन समितिले जनाएको छ ।