समाजवादी मोर्चाले सबै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौं, २३ असार । समाजवादी मोर्चा नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी शहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मोर्चाको सन्देश देशभर पुर्याउने गरी सबै प्रदेशको राजधानी शहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
बैठकले मोर्चाको आचारसंहिता, नीति तथा कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहेको उपाध्यक्ष पाण्डेले बताए ।
कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेस हुने र पारित हुनेछ । उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६–६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ ।
नेताहरुले मोर्चाको बैठक बस्न ढिलाइ भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


