काठमाडौं, २३ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाको ब्याजदर छिट्टै घटाउने बताएका छन् । बैंक तथा वित्तिय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आइरहँदा अर्थमन्त्री महतले यस्तो आश्वासन दिएका हुन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौंले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन हुने विश्वास समेत व्यक्त गरे ।

कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताउँदै अर्थमन्त्री महतले भने, ‘यो अहिलेको जुन ब्याजदर छ । त्यो ज्यादा छ । त्यसकारण त्यसकारण यो पोलिसी रेट घटाउने र यो पुनर्ताजकीकरण गर्नका लागि पनि त्यो सुविधा दिनुपर्छ भन्ने कुरा पनि मैले नेपाल राष्ट्र बैंकमा राखेको छु ।’

अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिन पनि आमउपभोक्तालाई आग्रह गरे । कृषिवस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै उनले क्याटरिङ व्यवसायीको पनि प्रशंसा गरे ।

सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको दोहोर्याउँदै अर्थमन्त्री महतले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए ।

अर्थमन्त्री महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने चाहेको र सोही अनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको दाबीसमेत गरे ।