काठमाडौंमा ५० हजार मान्छे उत्रिए संघीयता हटेर राजतन्त्र आउँछ : राजेन्द्र लिङ्देन

काठमाडौं, २३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं केन्द्रित आन्दोलन गरे राजसंस्था पुनर्स्थापित र संघीयता खारेज हुनसक्ने जिकिर गरेका छन् ।
शनिबार राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतामा गएपनि काठमाडौंले गरेको निर्णय देशभर लागू हुने गरेको बताए ।
नेपालको निर्णयको केन्द्र काठमाडौं भएको उल्लेख गर्दै उनले भने, ‘संघीयताको जति ठूला कुरा गरे पनि देश काठमाडौंबाट चलेको छ । नेपालको निर्णयको केन्द्र भनेको काठमाडौं हो । काठमाडौंले जे निर्णय गर्छ त्यो नेपालभर लागू हुन्छ ।’
काठमाडौंमा ५० हजार मात्रै मान्छे उभिएर राजसंस्थाको पक्ष र संघीयताविरुद्ध आन्दोलन गर्ने हो भने संघीयता खारेज हुने र राजसंस्था पुनर्स्थापित हुने उनको दाबी छ । त्यसका लागि एक जिल्लाबाट एक हजार मान्छे काठमाडौंका सडकमा एक साता आएमा सरकारले घुँडा टेक्ने उनको जिकिर छ ।
उनले भने, ‘७४ जिल्लाका ७४ हजार मान्छे काम छोडेर राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र भन्दै एक साथ एक साता सडकमा आए यिनीहरूले घुँडा टेक्नु पर्छ कि पर्दैन ?’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


