एमालेद्वारा मधेश प्रदेशसभाको बैठक अवरुद्ध

जनकपुरधाम, २३ असार । शनिबार बसेको मधेश प्रदेशसभाको बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् ।
प्रदेश सरकारले बजेट ल्याएको २३औँ दिनमा बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवको जवाफ माग्दै एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बजेट भाषण सकेपछि अर्थमन्त्री संजयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै विरोध जनाउँदै मुख्यमन्त्रीको तर्फबाट जवाफ नआएसम्म बैठक चल्न नदिने एमालेका प्रमुख सचेतक लखनदास तत्माले बताए ।
प्रमुख सचेतक तत्माले मुख्यमन्त्री सरोजकुमार यादवसँग जवाफ माग्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा सशर्त अनुदान किन नदिएको ?, बजेट भाषण भइसकेपछि पर्यटन मन्त्रालयबाट ८ करोड, सामाजिक विकास मन्त्रालयबाट २० करोड रकमान्तर भएको, सर्लाही जिल्लामा २२ वटा योजना राखेर करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ?, रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिशत उठाएर योजना समावेश भएको सुनेको छु, यस्तो किन ?’
उनले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।
यस्तै, दलका उपनेता दिपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट भाषण भइसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । उनले के कति कारणले बजेट सेसन अन्त्य भएपछि रकमान्तर भएको भन्दै प्रश्न गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


