काठमाडौं, २२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन् ।

लिङ्देनले प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको जिकिरसमेत गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतीहरू’ विषयक विचार गोष्ठीमा लिङ्देनले प्रधानमन्त्री दाहालले अघिल्लोपटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेबल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुसी बनाउन खोजेको आरोप लगाए ।

नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनले भनाइ छ ।

लिङ्देनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यसविपरीतका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाए ।