तमिम इकवालले एक दिनमै लिए सन्यास फिर्ता

एजेन्सी, २२ असार । बंगलादेशी स्टार ब्याटर तमिम इकवालले आफ्नो सन्यास फिर्ता लिएका छन् । शुक्रबार प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि तमिमले संन्यास फिर्ताको घोषणा गरेका हुन् ।
उनले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा हार बेहोरेपछि अचानक बिहीबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । तर, तमिमले शुक्रबार प्रधानमन्त्रीको अस्वीकार गर्न नसक्ने बताउँदै सन्यास फिर्ता लिए ।
प्रधानमन्त्री हसिनासँगको भेटमा उनीसँगै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसन तथा पूर्वकप्तान मशरफे बिन मुर्तजा पनि सामेल थिए ।
एकदिवसीय विश्वकप सुरु हुन तीन महिना मात्र बाँकी रहेको बेला तमिमको संन्यासले बंगलादेशी क्रिकेट समर्थक निराश थिए । उनी एकदिवसीयमा बंगलादेशका सर्वाधिक सफल ब्याटर हुन् ।
सन् २००७ को फेब्रुअरीमा एकदिवसीयमा डेब्यु गरेका तमिमले २४१ ओडिआईमा ८ हजार ३ सय १३ रन बनाएका छन् । त्यसक्रममा उनले ५६ अर्धशतक र १४ शतक बनाएका छन् ।
यस्तै, उनले ७० टेस्ट खेलमा ३१ अर्धशतक र १० शतकको मद्दतमा ५ हजार १३४ रन बनाएका छन् । तमिमले आफ्नो करियरमा ७८ टी–२० खेले । जसमा उनले ७ अर्धशतक र १ शतकको सहयोगमा १ हजार ७५८ रन बनाए ।
३४ वर्षीय तमिमले टी–२० अन्तर्राष्ट्रियबाट गत वर्ष संन्यास लिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


