कर्मचारीलाई प्रशासक नभई जनसेवक भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीलाई प्रशासक नभई जनसेवक भएर काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको ११औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘वर्षातको समयपूर्व नै किन हामी उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अन्त्यन्तै संवेदनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारुकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौं ? यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेर मात्र हामीले सही अर्थमा विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ ।’
उनले मानवीय क्षति पुगेका र घरवारविहीन बनेका परिवारलाई राहत वितरण गर्न र निजी आवास पुननिर्माणमा सहयोग गर्न पनि निर्देशन दिएका छन् ।
निजी तथा सार्वजनिक संरचना र सम्पत्तिमा गुमेको भौतिक क्षति तथा नोक्सानीको आकलन गर्न, जोखिमयुक्त वस्तीहरूको अध्ययन गर्न र जोखिमयुक्त देखिएका वस्ती स्थानान्तरणसम्बन्धी उपयुक्त प्रबन्ध मिलाउन पनि प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


