प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने अडान

काठमाडौं, २२ असार । नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने अडान राखेका छन् ।
शुक्रबार राष्ट्रियसभाको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले अवरोध गरेका थिए । त्यसपछि बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।
बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताइन् ।
उनले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उनलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेको जिकिर समेत गरिन् । देशकै सम्मानित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरूको शिर झुकेको सांसद घिमिरेको दाबी छ ।
एमाले सांसदहरूले बैठक अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटक पटक आग्रह गरेका थिए । तर आफ्नो अडानबाट एमाले सांसदहरू पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


