कोशीको मुख्यमन्त्रीमा नियुक्त थापाविरुद्ध एमाले पुग्यो सर्वोच्च

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाविरुद्ध सर्वोच्च पुगेको छ ।
शुक्रबार संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेको नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका हुन् ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भएपनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको उनले बताए ।
बिहीबार सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमतको सरकारमा दाबी गरेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुख बाहेक सत्तारुढ गठबन्धनमा ४६ जना मात्रै सांसद छन् ।
सभामुखलाई छुट्टै हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । उनले शुक्रबार बिहान सपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


