जनकपुरधाम, २२ असार । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका बिद्यार्थी आन्दोलित भएका छन् । विश्वविद्यालय सुधारको माग गर्दै बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विश्वविद्यालयका बिद्यार्थीहरुले शुक्रबार स्थानीय रामानन्द चोकमा एक घण्टा चक्काजाम गरेका छन् । विश्वविद्यालयमा उपकुलपति, क्याम्पस प्रमुख र रजिष्ट्रारसमेत नरहेको अवस्थामा आफूहरुको पठनपाठन लथालिङ्ग बनेको बिद्यार्थी नेता संगम तिवारीको आरोप छ ।
आन्दोलित बिद्यार्थीहरुले शिक्षामन्त्रीविरुद्धसमेत नारावाजी गरेका थिए ।

कहिले करारमा राखिएका उपप्राध्यापकहरुको आन्दोलन त कहिले बिद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको थलोका रुपमा परिणत हुँदै गइरहेको छ ।

विवादित बन्दै आइरहेको सो विश्वविद्यालय पदाधिकारीविहिन हुँदा विश्वविद्यालयको अवस्था झन जर्जर बन्दै गइरहेको छ ।

विश्वविद्यालयका भीसी, रजिष्ट्रार, डिन लगायतका पदाधिकारीहरु नियुक्त नभएको महिनौं बढी भइसकेको छ । यस अघिका पदाधिकारीहरु कार्यअवधि पूरा गरेर अवकाश पाइसकेका छन् ।

राजर्षि जनक विश्वविद्यालयबाट सेवा निवृत शैलेन्द्रनारायण मल्लिकले संघ सरकारद्वारा संचालनमा आएको यो विश्वविद्यालय सरकारी उपेक्षाको शिकार भएको आरोप लगाए ।

‘संघ सरकारले विश्वविद्यालय स्थापना गरेर पदाधिकारीविहीन हुँदा समेत मौन छ, प्रदेश सरकार सहयोग गर्न चाहँदैन । यसरी सरकारी उपेक्षाको शिकार भयो भने विश्वविद्यालय कसरी चल्छ ?’ मल्लिकले प्रश्न गरे ।

सहायक क्याम्पस प्रमुख राजिव पाण्डेले परीक्षा सम्पन्न भएको एक महिना बितिसकेको अवस्थामा पनि कक्षा सञ्चालन गर्न नमानेको भन्दै उनीहरु आन्दोलित बनेका छन् ।

यता, पेपर कोर्ष कन्ट्रयाक्ट शिक्षकहरुले भने बीबीएको तेस्रो, चौथो, छैटौं र आठौं सेमेष्टरका बिद्यार्थीहरुलाई भने निशुल्क अध्यापन गराइरहेका छन् ।

९ जना शिक्षकहरु मिलेर बीबीएका करिब १ सय जना बिद्यार्थीहरुलाई अध्यापन गराईरहेका छन् । त्यस्तै बीएमएलटीको पनि तेस्रो सेमेष्टरका बिद्यार्थीहरुको कक्षा सञ्चालन भइरहेको छ ।

राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीको नाममा अहिले परीक्षा कन्ट्रोलर डाक्टर बलराम झा मात्र छन् । सहायक क्याम्पस प्रमुख राजिव पाण्डेले पनि राजीनामा दिइसकेका छन् । उनको करार अवधिसमेत असार ३० गते समाप्त भइरहेको छ ।

राजर्षि जनक विश्वविद्यालयमा बीए एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठन पाठन हुँदै आइरहेको छ । जनकपुरधामको रामानन्द चोकमा रहेको विश्वविद्यालयको क्याम्पसमा ५ सय बिद्यार्थीहरु अध्ययनरत छन् ।

तस्बिर : घनश्याम मिश्र